आन्द्राको क्यान्सरको बारेमा

आन्द्राको क्यान्सर (bowel cancer) अष्ट्रेलियामा क्यान्सरबाट हुने मृत्युहरूको दोस्रो ठूलो कारण हो।

 यसले महिला तथा पुरुष दुवैलाई असर गर्दछ र कुनै पनि लक्षण विना नै यो हुन सक्छ। यदि प्रारम्भिक अवस्थामा पत्ता लागेमा, यसका लगभग सबै घटनाहरूको सफलतापूर्वक उपचार गर्न सकिन्छ। प्रत्येक दुई वर्षमा, 50 देखि 74 वर्षसम्म उमेरका व्यक्तिहरूलाई आन्द्राको क्यान्सर पत्ता लगाउन छिटो, निःशुल्क र घरमै गर्न सकिने आन्द्राको स्क्रिनिङ परीक्षण (bowel screening test) गर्न आमन्त्रण गरिन्छ। 

पुरुष तथा महिला दुवैले यो परीक्षण गर्नु महत्वपूर्ण छ। यसले तपाईंको जीवन बचाउन सक्छ।

तपाईंले किन परीक्षण गर्नुपर्छ

यदि तपाईं 50 वर्षभन्दा बढी उमेरको हुनुहुन्छ भने तपाईंलाई आन्द्राको क्यान्सर हुने खतरा बढी हुन्छ। यसको कुनै पनि पारिवारिक इतिहास विना र कुनै लक्षण विना नै यो देखापर्न सक्छ। 

यदि प्रारम्भिक अवस्थामा पत्ता लागेमा, 90 % आन्द्राको क्यान्सरको सफलतापूर्वक उपचार गर्न सकिन्छ। ढिलो नगर्नुहोस्, आजै आफ्नो निःशुल्क परीक्षण गर्नुहोस्‌।     

नि: शुल्क आन्द्राको स्क्रीनिंग परीक्षण

Bowel screening test kit envelope.

आन्द्राको स्क्रीनिंग परीक्षण अष्ट्रेलियन सरकारद्वारा उपलब्ध गरिएको हो र यो सरल, नि: शुल्क र घरमै गरिने परीक्षण हो। यदि तपाईंको उमेर 50 र 74 वर्षको बीचमा छ भने, तपाईंले प्रत्येक दुई वर्षमा एउटा नि: शुल्क आन्द्राको स्क्रीनिंग परीक्षण किट प्राप्त गर्नुहुनेछ जुन तपाईंले मेडिकेयरमा सूचीबद्ध गर्नुभएको ठेगानामा पठाइन्छ।

यदि तपाईंले पहिले नै आफ्नो किट प्राप्त गर्नुभएको छ भने, त्यसको म्याद समाप्त हुने मिति जाँच गर्नुहोस्। 

यदि तपाईंको परीक्षण किटको म्याद समाप्त भएको छ, तपाईंले किट हराउनुभयो भने वा प्राप्त गर्नुभएको छैन भने, तपाईंले यो लिंकमा पुन: अर्डर गर्न (अँग्रेजी भाषाको वेबसाईट) वा 131 450 मा टेलिफोन दोभाषे सेवा (Telephone Interpreter Service (TIS)) मा फोन गर्न सक्नुहुनेछ। 

यदि तपाईं 50 वर्षभन्दा कम उमेरको हुनुहुन्छ र आन्द्राको क्यान्सरको बारेमा चिन्तित हुनुहुन्छ भने, तुरुन्तै आफ्नो चिकित्सकलाई भेट्नुहोस्। 

आन्द्राको क्यान्सरका लक्षणहरू

आन्द्राको क्यान्सर कुनै लक्षण विना नै देखापर्न सक्छ। तर आन्द्राको क्यान्सर भएका धेरै व्यक्तिहरूले केही न केही लक्षणहरू अनुभव गर्दछन्‌। जसमा निम्न पर्न सक्छन्:  

  • आफ्नो दिसामा वा दिसा गर्ने ठाँउ (toilet bowl) मा रगत देख्ने 
  • आफ्नो शौचालयको बानीमा परिवर्तन देख्ने जुन 3 हप्ताभन्दा बढी समयसम्म पनि रहिरहन्छ। यसमा पातो दिसा, गम्भीर कब्जियत र / वा यदि तपाईंलाई सामान्यभन्दा धेरै पटक दिसा गर्नुपर्ने आवश्यक हुने
  • कुनै कारणविना नै थाक्ने वा वजन घट्ने 
  • पेट दुख्ने

यदि तपाईंले यी मध्ये कुनै पनि लक्षण देख्नुभयो भने, तपाईंले सिधै आफ्नो डाक्टरसँग कुरा गर्नु महत्वपूर्ण हुन्छ। 

तपाईंमाथि यसको जोखिम कसरी कम गर्ने

तपाईंलाई आन्द्राको क्यान्सर हुनुसक्ने जोखिम बढाउन सक्ने केही कुराहरूमा निम्न पर्दछन्‌:  

  • उमेर 
  • पारिवारिक इतिहास 
  • आन्द्रामा जलन गराउने रोगहरू  
  • खराब आहार
  • शारीरिक निष्क्रियता 
  • मद्यपान  
  • मोटापा 
  • धुम्रपान

तपाईंले निम्न कुरा गरेर आफूलाई आन्द्रा को क्यान्सर हुने जोखिम कम गर्न सक्नुहुन्छ: 

  • धुम्रपान त्यागेर
  • सक्रिय रहेर  
  • प्रशस्त ताजा फलफूल तथा सागसब्जी सहितको स्वस्थ आहार लिएर 
  • रातो र प्रशोधित मासु खान कम गरेर 
  • रक्सी सीमित मात्रामा खाएर  
  • स्वस्थ शारीरिक वजन राखेर

यदि मेरो परिवारमा आन्द्राको क्यान्सरको इतिहास छ भने के गर्ने?

निम्न अवस्थामा तपाईंको परिवारमा आन्द्राको क्यान्सरको इतिहास हुन्छ: 

  • कुनै नजिकको नातेदार (आमाबाबु, भाइ, बहिनी वा सन्तान) लाई सानो उमेर (55 वर्षभन्दा कम) मा आन्द्राको क्यान्सर भएमा; अथवा  
  • तपाईंको परिवारमा एकभन्दा बढी नजिकका नातेदारहरूलाई कुनै पनि उमेरमा आन्द्राको क्यान्सर भएमा।  

आन्द्राको क्यान्सर भएका 75 प्रतिशतभन्दा बढी व्यक्तिहरूमा यो रोगको पारिवारिक इतिहास हुँदैन। यदि तपाईंलाई आन्द्राको क्यान्सरको पारिवारिक इतिहास छ जस्तो लाग्छ भने, आफ्नो डाक्टरसँग कुरा गर्नुहोस्। 

अधिक जानकारीको लागि, 131 450 मा टेलिफोन दोभाषे सेवा (TIS) लाई फोन  गर्नुहोस्‌। थप सहयोगको लागि, तपाईंले आफ्नो डाक्टरसँग कुरा गर्न सक्नुहुन्छ।